Nepal Sarokar

जापानी राजकुमारी माकोको पद्वी खोसिने

टोक्यो । जापानकी राजकुमारी माकोको पद्वी खोसिने भएको छ । सर्वसाधारण केइ कोमुरोसँग विवाह बन्धनमा बाँधिएपछि उनको राजकुमारी पद्वी खोसिने भएको हो ।

जापानी संविधान अनुसार राजपरिवारकी सदस्यले कुनै सर्वसाधारणसँग विवाह गरेमा राजकीय पद्वी खोसिने उल्लेख छ । यसअघि माकोकी फुपुले पनि सन् २००५ मा सर्वसाधारण युवकसँग विवाह गरेकी थिईन् । माको जापानी सम्राट अकिहितोकी जेष्ठ नातिनी हुन् । उनले आफ्ना केटा साथी केइ कोमुरोसँग विवाह गर्न लागेको जापान टाइम्सले जनाएको छ । उनीहरु विश्वविद्यालयका सहपाठी हुन् । उनीहरुको विवाहका बारेमा जापानी राजदरवारले पनि पुष्टि गरिसकेको समाचारमा उल्लेख छ । विवाह अर्को वर्ष हुनेछ ।

माको र केई दुवै २५ वर्षका छन् । उनीहरु दुवै टोक्योस्थित इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटीमा सँगै पढ्थे । पेशाले वकिल केइ अहिले आफ्नै ल फर्म सञ्चालन गरेर बसेका छन् भने राजकुमारी माकोले कला संस्कृतिमा स्नातक तह पूरा गरेकीछिन् ।

प्रतिकृया दिनुहोस्