Nepal Sarokar

तेमाल जात्रालाई राष्ट्रिय पर्वको मान्यता दिन माग

काठमाडौं । तामाङ समुदायको महत्वपूर्ण पर्व तेमाल जात्रा (चैतेपूर्णे जात्रा) लाई सरकारले राष्ट्रिय पर्वका रुपमा घोषणा गर्नुपर्ने माग सरोकारवालाले गरेका छन् ।

‘राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा र अन्तर्रा्ष्ट्रिय बौद्ध परिपथ’ विषयको अन्तक्र्रियामा तामाङ बौद्ध महासङ्घ नेपालका केन्द्रीय महासचिव तथा धर्मगुरु सुन्दर योञ्जन तामाङले तेमाल जात्रा बौद्धमार्गीको महत्ववूर्ण र ऐतिहासिक पर्व भएकाले यसलाई राष्ट्रिय पर्वका रुपमा सरकारले पहिल्यै घोषणा गर्नुपर्ने भए पनि वास्ता नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो जात्रामा तामाङ जातिले आफ्ना सदस्यको मृत्यु भएको छ भने उनीहरुको सम्झनामा बौद्धनाथ स्तूपमा गई पूजा गर्ने र बत्ती बाली मृतकको आत्मा शान्तिका लागि कामना गर्ने गर्छन् । जात्राको अघिल्लो दिन नमोबुद्ध स्तूप, जात्राको दिन बौद्ध स्तूप र पछिल्लो दिन स्वयम्भूमा गई पूजा गर्ने प्रचलन रहेको छ ।”

सरकारले तेमाल जात्रालाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै आउनुभएका नेकपा (एमाले)का सांसद रामेश्वर फुयाँलले यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा राख्नुपर्ने र बुद्धको जन्मथलो लुम्बिनीलगायत सम्बन्धित ऐतिहासिक धार्मिक थलो स्वयम्भू, जामाचो, बौद्धनाथ, मणिचुड, नमोबुद्ध, भारतको बोधगया र अफगानिस्तानको बामियानलाई जोडेर अन्तर्राष्ट्रिय बौद्ध परिपथ निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

त्यो परिपथ निर्माणले बुद्धधर्मको सन्देश विश्वभर पुग्नुका साथै पर्यटन प्रवर्द्धन भई लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्नमा समेत योगदान पुग्ने सांसद फुयाँलको भनाइ छ ।

त्रिविका मानवशास्त्र विभागका प्राध्यापक डा मुक्तसिंह लामाले तेमाल जात्रामा देशभरमा रहेका करिब सात लाख तामाङ जाति सहभागिता जनाउने बताउनुभयो ।

बुद्धमार्गीको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको तेमाल जात्रा चैत पूर्णिमामा पर्ने गर्दछ । चैत पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूर्णिमाको दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने तामाङ समुदायको तेमाल जात्रामा हजारौँ भक्तजन सहभागी हुने गर्दछन् । जात्रामा काभ्रे, रसुवा, धादिङ, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँलगायतका जिल्लाका तामाङको उल्लेख्य सहभागिता रहँदै आएको छ । रासस

प्रतिकृया दिनुहोस्