Nepal Sarokar

पाँच दिनभित्र चुनावको मिति घोषणा हुने

काठमाडौं । प्रदेश चार र पाँचको सीमा हेरफेरसहित संसद्मा विचाराधीन संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनलाई प्याकेजका रूपमा स्वीकार गरी अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीले फेरि अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहालले बालुवाटारमा शनिबार बोलाएको बैठकअघि गोप्य वार्ताका क्रममा ओलीले संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म निर्वाचन घोषणा गर्ने निर्णयमा आफ्नो सहमति नहुने बताएपछि जटिलता बढेको छ । तीन दलका नेताहरू संयुक्त बैठकमा बस्नुअघि दाहालले ओलीसँग आधा घन्टा बालुवाटारमै वार्ता गरेका थिए ।

पाँच नम्बर प्रदेश विभाजन हुने गरी गरिने संविधान संशोधनमा सहमति नदिने अडान ओलीले व्यक्त गरेपछि बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक पनि संशोधनमा सहमति जुटाउन नसकी टुंगिएको हो ।

प्रधानमन्त्री दाहालले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी आगामी साता निर्वाचन मिति घोषणा गर्न दलहरूको सहमति जुटाउने कसरत गर्दै शनिबार आफ्नै निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

एमालेका नेताहरू आफ्नो पुरानो अडानबाट पछाडि नहटेपछि संशोधनका बारेमा बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

प्रतिकृया दिनुहोस्