Nepal Sarokar

सोनाम ल्होछार साताव्यापी रुपमा मनाइने

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना हुने भएको छ । राष्ट्रिय सोनाम ल्होछार २८५३ ज्या नामे ल्हो चरा वर्ष मूल समारोह समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि यही माघ ९ देखि १६ गतेसम्म साताव्यापी रुपमा भव्य ल्होछार कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार माघ ९ गते ल्होछार शुभकामना आदनप्रदान कार्यक्रम हुने भएको छ भने माघ ११ गते ल्होछारसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुनेछ । माघ १२ गते ताम्सालिङ ह्वाइखा अर्थात कविता प्रतियोगिता हुने तय भएको छ । यस्तै माघ १४ गते ल्होछार मूल समारोहस्थल टुँडीखेलमा तामाङ कलाकार र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुनेछ । सोही दिन साँझ बौद्ध स्तूपा र टुँडीखेलमा एकैपटक ल्होछार इभको अवसरमा दीप प्रज्ज्वल गर्ने कार्यक्रम छ । मूल समारोह अन्तर्गतको मूल कार्यक्रम माघ १५ गते टुँडीखेलमा हुनेछ ।

महोत्सवको उद्घाटन अघि रत्नपार्कस्थित शान्तिबाटिकाबाट वृहत सांस्कृतिक र्याली निकाल्ने तया भएको मूल समारोह समितिका सदस्य सचिव बाबु घिसिङले बताउँनुभयो । र्यालीपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ल्होछार मूल समारोहको उद्घाटन गर्नुहुनेछ । समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता र तामाङ अगुवाहरुले सम्बोधन गर्नुहुनेछ ।

माघ १६ गते तामाङ सेलो प्रतियोगिता र विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिसँगै ल्होछार मूल समारोह अन्तर्गतको साताव्यापी कार्यक्रमहरुको समापन गरिने आयोजक समितिका सह संयोजक वीरहादुर योञ्जनले बताउँनुभयो ।

ल्हो भनेको वर्ष र छार भनेको नयाँ हो । नेपालका तामाङ समुदायले आफ्नो नयाँ वर्ष प्रारम्भ भएको उत्सवस्वरुप हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार पर्व मनाउँने गर्दछन् ।

प्रतिकृया दिनुहोस्