Nepal Sarokar

आइतबारदेखि देशभरका अदालतमा बहसपैरवी बहिस्कार

काठमाडौं । प्रधानन्यायाधीशको निबासमा मध्यराति बैठक गरेर नियुक्त गरिएका न्यायाधीशहरुको नियुक्तिप्रति सरकारी वकिल र विभिन्न ट्रेड युनियनहरु आक्रामक ढंगले प्रस्तुत भएका छन् ।

उनीहरुले अदालत बहिस्कारसम्मको कार्यक्रम ल्याएपछि न्यायालयमा राजनीतिक सिरेटो चल्न थालेको छ ।   ‘उच्च अदालतका न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवीलगायत कार्य बहिष्कार गर्ने निर्णय गरेका छन् । सरकारी वकिल तथा ट्रेड युनियनले उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याएसम्म आइतबारदेखि अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा गरेका हुन् । असहयोग आन्दोलन गर्ने विषयमा निर्णय लिन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नायव महान्यायाधिवक्ता, सहन्यायाधिवक्तासहित चारवटा कर्मचारी संगठनबीच शुक्रबार लामो छलफल भएको थियो । यद्यपि आन्दोलनको निर्णयमा महान्यायाधिवक्ता श्रेष्ठको हस्ताक्षर भने छैन ।

बैठकले न्यायपरिषद् र अदालतविरुद्ध परेका रिटउपर सरकारी वकिलद्वारा प्रतिरक्षा नहुने निर्णयसमेत गरेको छ । असहयोग आन्दोलन घोषणासहितको विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयअन्तर्गत निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, विभागीय कार्यसमितिका अध्यक्ष गजराज घिमिरे, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष रमेश भट्टराई, नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष भरतकुमार मैनाली र नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती विभागीय कार्यसमितिका अध्यक्ष टेकनाथ अधिकारीको हस्ताक्षर छ । बैठकमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव शान्तिप्रसाद लुइँटेलसमेत सहभागी थिए ।

प्रतिकृया दिनुहोस्