Nepal Sarokar

मुलुकभर माघे संक्रान्ति पर्व मनाइदै–मगर, थारु, छन्त्याल समुदायको नयाँ वर्ष प्रारम्भ

काठमाडौं । आज माघ १ गते मुलुकभर माघे संक्रान्ति पर्व मनाइदैछ ।

आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।
माघे संक्रान्तिको दिन घरका सबै परिवारका सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर घिउ, चाकु, तरुल, सखरखण्ड, खिचडी लगायतका परिकार खाने चलन छ ।

माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पूजापाठ गरेका थिए । यसैगरी भक्तपुरको तौमढी टोलमा रहेको तिलमाधव नारायणको विशेष पूजा हुन्छ ।

माघे संक्रान्तिलाई थारु, मगर र छन्त्याल समुदायले नयाँ बर्षको रुपमा धुमधामसँग मनाइ रहेकाछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा माघीको विशेष रौनक छ । थारु समुदायले माघ १ गतेदेखि गाउँको मुखिया चयन गर्ने, बर्ष दिनको योजना बनाउने लगायत काम गर्दछन् । माघी पर्वकै अवसर पारेर राजधानीको टुँडिखेलमा माघी महोत्सव आयोजना गरिएको छ ।

माघे संक्रान्तिको अवसरमा देशभर सार्बजनिक विदा दिइएको छ । यसैबीच माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र बिभिन्न राजनीतिक दलका नेताहरुले स बै नेपालीलाई शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले शुभकामना सन्देश दिँदै विविधताले सम्पन्न सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महान् पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका मगर, थारु, छन्त्याल समुदायको महान् साँस्कृतिक पर्व एवम् नेपालीको महत्वपूर्ण चाड माघेङ्क्रान्ति÷माघी पर्व २०७३ का अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचार र एकताको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले थारु यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघेङ्क्रान्ति÷माघी पर्व २०७३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मगर, थारु र छन्त्याल समुदाय एवम् सम्पूर्ण नेपाल दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्