Nepal Sarokar

कविता : बाटो

कामना न्यौपाने

तिमी
क्याण्डल लाईट डिनरमा
मस्त भइरहँदा,
म पग्लिरहेको
मैनबत्ती नियाल्दैछु…
तिमीले कलशमा
फूलहरु सझाउँदै गर्दा,
म निरीह बनेका
कांडाहरु हेर्दैछु ।

तिमीले बुट्टाइएका
अक्षहरु सुम्सुमाउँदा,
म घस्रिएको निमको
संघर्ष देख्दैछु …

म कसरी तिमीसँगै
तालमा ताल
मिलाएर नाचूँ ?

मलाई ,
रापले पग्लिएर
तप तप झरेका
आँसुहरु बटुलनुछ ,
तिम्रो रोमान्टिक
डेटको लागि
शहीद बनेका ती
मैनबत्तीका पीड़ाका
गाथा गाउनुछ,

candle

म कसरी तिमीसँगै
भजनमा झूमूँ ?

मलाई ,
अपहेलित र तिरस्कृत
तीखा काँडाको
घाउ नियाल्नुछ,
आत्मसमर्पण गरि
फूलसँग बिछोडिएका
ती सुरक्षागार्डको
व्यथा सुन्नुछ…

म कसरी
तिम्रो लयमा
गीत गाउँ ?

मलाई ,
तिम्रो औलांमा च्यापिएर
तिम्रै रफ्तारमा घस्रिएको
त्यों नीमको दुखाई
महसूस गर्नुछ ,
पिडामा पिल्सिएर
मसी बुट्टयाउने
त्यों कला सिक्नुछ ।

हिंडनदेऊ मलाई
आफ्नै बाटो,
तिमीले देखेको संसार
र मैले बुझेको संसार
भिन्न छ  ।

२०७३ पुष १७

प्रतिकृया दिनुहोस्