Nepal Sarokar

नेपालीको आम्दानी खान र लगाउनमै खर्च

काठमाडौं । आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२-७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन जीडीपीको ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ । यो हालसम्मकै उच्च अनुपातको उपभोग हो ।

आव ०७१र७२ मा कुल उपभोग खर्च जीडीपीको ९१।२१ प्रतिशतमात्र थियो भने पाँच वर्षअघि ८६ प्रतिशतमात्र थियो । उपभोग बढ्दै जाँदा कुल राष्ट्रिय बचतमा त्यसको सोझो असर पर्छ । आव २०६७र६८ का जीडीपीको झन्डै १४ प्रतिशत राष्ट्रिय बचत हुने गरेकोमा गत आवसम्म आइपुग्दा यो ५।२६ प्रतिशतमा झरेको छ ।

तथ्यांक विभागका अनुसार अहिले नेपालीको प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय ७५२ डलरमात्र छ, यो अघिल्लो आव ०७१र७२ भन्दा १० डलरले घटेको हो । अमेरिकी डलरसँगको विनिमयमा नेपाली मुद्रा कमजोर भएकाले नेपालीको प्रतिव्यक्ति आय पनि घटेको हो ।

अहिले नेपालको अर्थतन्त्रको कुल आकार २२ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँमात्र पुगेको छ । गत वर्षको भूकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण आर्थिक वृद्धिदर ०।५६ प्रतिशतमा खुम्चेको विभागको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्