Nepal Sarokar

एकैपटक धेरैको दिनरात चोर्ने काजोल खातुन भाइरल बन्दै

काठमाडौं । युवा पत्रकार एमपी सुब्बाले शनिवार एउटा फेसबुक स्टाटस राखे–अबको केही रात काजोल खातुनसँग विताउँदैछु । यसैगरि शनिवार नै युवा गीतकार फुलकुमार बम्जनले पनि उस्तै आशयको फेसबुक स्टाटस हाले–अबको केही दिन काजोल खातुनलाई ।

त्यसो त काजोल खातुनका लागि आफ्नो दिन र रात दिन तयार सुब्बा र बम्जन मात्र होइन धेरै देखिए । शनिवार छापिएका राष्ट्रिय दैनिकहरुमा पनि तिनै काजोल खातुनको सन्दर्भ थिए । यसरी एकैपटक धेरै युवा युवती,महिला पुरुष सबैको दिन र रात चोर्न सफल काजुल खातुन आखिर को हुन् ? अहिले यो चासो सर्वत्र छाएको छ भने काजोल खातुन रातारात भाइरल जस्तै हुन लागेकी छिन् ।

काजोल खातुन अरु कोही नभई युवा पत्रकार फुलमान बलको कथा संग्रहकी शीर्ष पात्रा हुन् । कथाकार बलको यही काजोल खातुन शीर्षकको कथा संग्रहको शनिवार विमोचन गरियो ।

कान्तिपुर दैनिकका पत्रकार वलको पहिलो कथा संग्रह ‘काजोल खातुन’ शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा विमोचन गरिएको हो । कथा संग्रह साहित्यकारहरु अभि सुवेदी, शारदा शर्मा, कुमारी लामा र समीक्षक गुरुङ सुशान्तले एकैसाथ विमोचन गरे । १३ वटा कथा रहेको यस कथा संग्रह बुक हिल प्रकाशनले बजारमा ल्याएको हो । अघिल्लो शनिबार यसको प्रि–लन्च गरिएको थियो ।

प्रतिकृया दिनुहोस्