Nepal Sarokar

के हो थ्याङ्क्स् गिभिङ डे र ब्ल्याक फ्राइडे ?

काठमाडौं । आफ्नो स्वार्थ पूरा भएपछि गुण विर्सने मानिसहरुको कमी छैन । आफ्नो काम नबनुञ्जेल अर्थात स्वार्थ पूरा नभइञ्जेल ज्यूहजुर गर्ने तर स्वार्थ पूरा भएपछि धन्यवादको औपचारिकता समेत पूरा नगर्ने मानवीय प्रवृत्तिहरु हाम्रै समाजमा समेत देखिन्छन् । तर पाश्चत्य मुलुकहरुमा भने कमसेकम काम लिइसकेपछि धन्यवाद अभिव्यक्त गर्ने संस्कृति अझै जिविदै छ । यसलाई जीवन्त दिन अमेरिका लगायतका मुलुकहरुमा थ्यांक्स गिभिङ्गका रुपमा हरेक वर्ष राष्ट्रिय पर्व नै मनाउँने गर्दछन् ।

अमेरिकामा विहीवार ठूलो राष्ट्रिय चाडका रुपमा थ्यांक्स गिभिङ्ग मनाइदैछ । अमेरिकामा हरेक वर्ष नोभेम्वर महिनाको अन्तिम बिहीवार थ्यांक्स गिभिङ्ग पर्व हर्षोल्लासका साथ मनाइन्छ । अमेरिकामा सबै जाति,धर्म र सम्प्रदायका अमेरिकीहरुले मनाउने भएकोले अमेरिकामा थ्यांक्स गिभिङ्गलाई अझ उच्च महत्वको पर्व मानिन्छ । यसैदिनदेखि दिनदेखि अमेरिकामा चाडबाडको मौसम सुरु हुने मान्यता छ । यो दिन अमेरिकामा सरकारी राष्ट्रिय छुट्टी दिइने हुनाले यसलाई लामो छुट्टीको समय समेत भनिन्छ । थ्यांक्स गिभिङ्गपछि शुक्रवारको एक दिन अधिकांशले छुट्टी लिने र शनिवार र आइतवार समेत गरी चार दिन छुट्टी लिएर पारिवारिक भेटघाट गर्ने परम्परा छ । थ्यांक्स गिभिङ्गको यही चाडमा पारिवारिक भेटघाट,आफ्ना आफन्त,नातेदार एकै ठाउँ भेला भई टर्की नामक विशेष पंक्षीको मासु खाने चलन छ ।

थ्यांक्स गिभिङ्ग मनाएर टर्की खाएपछि ब्ल्याक फ्राइडे सुरु हुन्छ । ब्ल्याक फ्राइडेमा अमेरिकामा सबै सामान निकै सस्तोमा किन्न पाइन्छ । इलेक्ट्रोनिक,घरायसी,लत्ता कपडा जस्ता सामानहरु सबै मलहरुमा अत्यधिक छुटमा किन्न पाइन्छ । बिहीवार रातिदेखि नै ग्राहकहरु सपिङ्ग मल र केन्द्रमा लामो लाइनमा बस्ने गर्दछन् ।

black-friday-shoppers1थ्यांक्स गिभिङ्ग एक अर्कामा धन्यवाद साटासाट गरेर आभार व्यक्त गर्ने चाड हो । अमेरिकी संसदको तल्लो सदन कंग्रेसले थ्यांक्स गिभिङ्गलाई राष्ट्रिय चाडको रुपमा सन् १९४१ मा अनुमोदन गरेको थियो । थ्यांक्स गिभिङ्गको प्रचलनको अर्को पृष्ठभूमि सन् १६२१ तिर हालको म्यासाचुसेट्स राज्यको प्लेमथ उत्पादन केन्द्रसंग पनि जोडिएको छ । जस अनुसार बेलायतबाट तीर्थ गर्न भनी आएका धार्मिक शरणार्थीहरु र रैथाने अमेरिकनहरुबीचको सम्बन्ध देखाइएको छ । सन् १६२० मा धेरै शरणार्थी तीर्थयात्रीहरु नयाँ ठाउँमा खडेरी परेको बेला भोकमरीका कारण मरेका थिए । रैथाने अमेरिकीहरुले बाँचेका शरणार्थीहरुलाई खेतीपाती गर्न,माछा मार्न र सामुद्रिक खानेकुरा खान सिकाएका थिए । आफुहरुलाई यसो गर्न सिकाएबापत ती शरणार्थीहरुले रैथाने अमेरिकीहरुलाई धन्यवाद भन्न सन् १६२१ मा एक भोजको आयोजना गरे । तत्पश्चात हरेक वर्ष यसरी यस दिनलाई पर्वकै रुपमा मनाउने क्रम सुरु भएको जनविश्वास छ ।

थ्याङ्क्स गिभिङ डेको अवसरमा शुभकामना सन्देश दिदै नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय एकतामा जोड दिएका छन् । थ्याङ्क्स गिभिङ जस्तो पर्वले अमेरिकीहरुबीचको एकताको आवश्यकता प्रतिविम्वित गर्ने उनले बताए ।

अमेरिका बाहेक थ्यांक्स गिभिङ्ग दिनलाई क्यानडा,जर्मनी,फिलिपिन्स,चीन,बेलायत,अष्ट्रेलिया,निदरल्याण्ड र जापान लगायतका देशहरुले पनि राष्ट्रिय पर्वका रुपमा मनाउँने गरेका छन् । तर ती अधिकांश देशहरुले अक्टुवर महिनामै यो पर्व मनाउँने गर्दछन् । जापानमा भने नोभेम्वर २३ का दिन मजदुरहरुलाई मालिकहरुले थ्याङ्स अर्थात धन्यवाद दिदै यो पर्व मनाउँछन् ।

पछिल्लो समय आयतित संस्कृतिमा रमाउँन थालेको नेपालमा पनि थ्यांङ्स गिभिङ उत्सवका रुपमा मनाउँने प्रचलन शुरु भएको छ । शहरमा खोलिएका ठूला शपिङ मलहरुले ब्ल्याक फ्राइडेका नाममा विभिन्न छुटको घोषणा समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्