Nepal Sarokar

जापानमा डोनल्ड ट्रम्पको हाई हाई,कम्पनीका कामदारलाई भ्याई नभ्याई

टोक्यो । अमेरिकाको राष्ट्रपतिय निर्वाचनबाट राष्ट्रपतिका रुपमा रिपब्लिकन पार्टीको डोनल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वभर मिश्रित प्रभाव परेको छ । ट्रम्पलाई आफ्नो मुलुकको राष्ट्रपतिका रुपमा स्वीकार गर्न नसक्ने जनआवाज अमेरिकामै बढिरहँदा विश्वका धेरै मुलुकमा भने ट्रम्पको हाई हाई भैरहेको छ । त्यसैमध्येमा जापान पनि पर्दछ । जापानी नागरिकहरुमा ट्रम्पको कतिसम्म प्रभाव परेको छ भने जापानी बजारहरुमा ट्रम्पको रबरको मुकुण्डोको उच्च माग बढेको छ । बजारको माग पूरा गर्न त्यस्ता मास्क निर्माण गर्ने कम्पनीहरुलाई अहिले भ्याई नभ्याई भएको छ ।

ट्रम्प निर्वाचित भएको घोषणा भए यतादेखि उनको मुखौटा अंकित मुकुण्डोको माग बढेको हो । माग पुर्याउन अहिले आफूहरुलाई निकै हम्मे हम्मे परिरहेको राष्ट्रिय तथा अन्तराष्ट्रि नेता र सेलिब्रेटीहरुको रबरको मास्क उत्पादन गर्दै आएको जापानी कम्पनी ओगावा स्टुडियोका अधिकारीले बताए । अहिले २३ जना कर्मचारीहरुले रातदिन काम गरेर दैनिक ३५० वटासम्म ट्रम्पको मुखौटा अंकित मास्क उत्पादन गरिरहेको कम्पनीका कार्यकारी निर्देशक ताकाहिरो यगिहाराले बताए । उनको कम्पनीले राष्ट्रपतिमा पराजित डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन,राष्ट्रपति बाराक ओबामा लगायतका नेताहरुको पनि मुकुण्डो निर्माण गरेका छन् । तर ट्रम्पको मुकुण्डोको माग भने उच्च भएको हो ।

ट्रम्पको रबरको मुखुण्डोमा उनको स्टाइलिस कपाल र फेसियल एक्सप्रेसन अत्याधिक रुचाइएको कम्पनीले जनाएको छ । ट्रम्पको छाला र कपालको रंगलाई मुकुण्डोमा पनि दुरुस्त उतार्न खोजिएको छ । यसका लागि सबैभन्दा पहिले छालाको रंग दिन स्प्रे गर्ने गरिन्छ । त्यसपछि ट्रम्पको कपाल अनुसारको पहेंलो रंग लगाइएपछि आँखामा निलो रंग लगाइन्छ । यी सबै काम कामदारहरुले हाते रुपमा गर्दै आएका छन् ।

अहिले ट्रम्पको मुकुण्डो लगाएर विभिन्न पार्टीमा जान रुचाउने जापानी युवा युवतीहरुको संख्या बढेको छ । यस्ता मुखुण्डोको मूल्य अहिले न्यनतम् २२ डलर अर्थात २४ सय जापानी येन पर्ने बताइएको छ । अमेरिका भनेपछि हुरुक्कै हुने जापानी युवा युवतीहरु ट्रम्पको रसिक र ग्ल्यामरस व्यक्तित्वका कारण उनीप्रति आकर्षित भएको जापानी समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । जापानमा अहिले अमेरिकी नव निर्वाचित राष्ट्रपति ट्रम्पको जीवनी छापिएका पुस्तकहरुको समेत माग बढेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्