Nepal Sarokar

कविता : दशैको नाममा

–कामना न्यौपाने

पसिनाले सिंचाइ गरेको
आफ्नो पौरखले भित्र्याएको
त्यो चामलको अक्षता
मुछ्दा दङ्ग छ ऊ
फरक छ
तिमी र म भन्दा ।
उसलाई थाहा छ
त्यो जमराको महत्व,
भकारीको धान
मकै र जौ झिकी
उसले रमाउदै हेर्छ
टुसा उमारेको ।

ठेकिको दहि झिकी
अक्षता मुछ्दै गर्दा
मख्ख छ ऊ
सम्झिन्छ वस्तुको गुण
आफूले पालिराखेको ।
फरक छ
तिमी र म भन्दा ।
उसले बुझेको छ
पर्वको बहानामा
आङ्ले फेर्ने त्यो
लुगाको महत्व,
खामको दक्षिणाको
मोलामोलाइ भन्दा
अमुल्य ती
आशिर्वादको महत्व ।

उसलाई थाहा छ
पसिना के हो
वर्षदिनमा बिसाइने
त्यो थकान के हो
फरक छ
तिमी र म भन्दा,
प्रफुल्लित छ ऊ
त्यसकै प्रतीक न हो
त्यो मिठो मुस्कान
मुजा परेको त्यो
अनुहारमा छाइरहेको,
जहाँ देख्नेछौ तिमी
कमेरो र रातो माटोको
थोप्ले बुट्टाहरु
उत्साह उमंग
अनगिन्ती खुशीहरु
केवल दशैको नाममा ।

प्रतिकृया दिनुहोस्