Nepal Sarokar

ज्योति मगरको तिघ्रा

-विनोदविक्रम केसी

तिमी फस्यौ ज्योति मगर!

फस्यौ नानी!
यो करनीघाती बजारको
चिल्लो–चम्किलो चक्रव्यूहमा
अभिमन्युले अन्तिम सास लिनुअघि
तिम्रो तिघ्रामाथि
म रचिरहेछु यो पाखण्डी शोकगीत एउटा

मलाई असाध्यै मन पर्छ
अबोध बालिकाको जस्तो तिम्रो निश्छल हाँसो
केही पनि नबुझी यसै हाँसिदिन्छौ तिमी
यही नासमझीले त डुबायो तिमीलाई

jyoti

कसुरै के छ र तिम्रो?
रसरंगका जल्लादहरूले
फर्‍याकफुरुक गर्दै फूल–पात टेकी नाचिहिँड्ने
गाउँकी एउटी पुतलीलाई
बनाइदिए कठपुतली

उनीहरू खिच्दछन् धागो
कस्दछन् धागो
तिमी गाइदिन्छौ
नाचिदिन्छौ
‘शो–बिज’ भन्ने
देह–खोतलखातल–उद्योगले
मागेजति देखाइदिन्छौ

यसरी तिमीलाई बनाइएको छ
तमासाको भद्दा राजकुमारी

नासलचोकदेखि
साँघुरो गल्लीको भूपी चोकसम्म
तिम्रो तिघ्रामा झुन्डिने लालसामा
खलासीदेखि विधायकसम्मको
भीड जमजमाइरहेको छ

आँखा खोल ज्योति मगर!
आँखा खोल नानी!
भीडको आँखाले चलाएको चक्कु हेर!
तिमी रगताम्य भइसक्यौ लाटी!

घरभित्र/पर्खालभित्र/पर्दाभित्र
फोहोरको गर्तमा डुबिरहने/झुमिरहने
तर बाहिर निक्लँदा
नैतिकताको सफा कमिज धारण गर्न
कहिल्यै नभुल्ने
भलाद्मी जगत्
गाली गर्दै छ तिमीलाई
चलायौ रे तिमीले व्यभिचारको कुटीर उद्यम
सारा अनैतिकताहरूको जननी बनाइएको छ
तिम्रो तिघ्रालाई

भाषा छ एउटा तिम्रो तिघ्राले बोल्ने
पण्डितहरू मोहर लाइदिन्छन्– अश्लील!
तिम्रो आहटै अश्लील!
तिम्रो तिघ्राको थर्थराहटै अश्लील!

जब गरिनेछ फाँसीको इन्तजाम तिमीलाई
प्रतिवादमा बोल्ने छैनन्
तिम्रो तिघ्राका मुनाफाखोरहरू
बरु तिनैले ल्याउनेछन् डोरी
बनाउनेछन् तख्ता तिनैले

आँखा खोल ज्योति मगर!
आँखा खोल नानी!
हेर,
कसरी खोसिरहेका छन् उनीहरूले
तिमीबाट
जिन्दगीको दिव्य गीत र भव्य नृत्य

कठपुतलीको आफ्नो कुनै सुर–ताल हुँदैन लाटी!

प्रतिकृया दिनुहोस्